योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको बेला, परमप्रभुबाट यो सन्देश यर्मिया कहाँ आयो। यो परमप्रभुको सन्देश थियो:
2
“यर्मिया, रेकाबीहरूका परिवारकहाँ जाऊ। परमप्रभुको मन्दिरको एउटा छेउको कोठामा तिनीहरूलाई निम्त्याऊ। अनि तिनीहरूलाई दाखरस खुवाऊ।”
3
यसर्थ मैले यर्मियाको + 35:3 यर्मिया यो अर्को मानिस (यर्मिया) हो। छोरो याजन्याह जो हबसिन्याहको नाति हो र उसका दाज्यू-भाइहरू र सबै छोराहरू पनि ल्याएँ। मैले रेकाबीहरूका सम्पूर्ण परिवारलाई पनि ल्याएँ।
4
त्यसपछि मैले तिनीहरूलाई मन्दिरभित्र ल्याएँ। हामीहरू हानान जो यिग्दल्याहको छोरो हुन तिनको छोराहरूको कोठामा गयौं हानान परमप्रभुको एकजना भक्त थियो। त्यो कोठाको छेउमा अधिकारीहरूको थियो। यो कोठा शल्लूमको छोरो मासेयाह ढोकेको कोठाको छेउमा थियो। मासेयाह परमप्रभुको मन्दिरको ढोके थियो।
5
तब मैले रेकाबी परिवारको अघाडि एक घैंटो दाखरस र केही कचौराहरू राखिदिएँ। अनि मैले तिनीहरूलाई “पिउनु भनें।”
6
तब रेकाबी मानिसहरूले जवाफ दिए, “हामी कहिले पनि दाखरस पिउने छैनौ किनभने हाम्रा पिता-पुर्खा रेकाबको छोरो योनादाबले, हामीलाई यस्तो आज्ञा दिए ‘तिमीहरू र तिमीहरूका सन्तानहरूले कहिल्यै दाखरस पिउनु हुँदैन।
7
उनले अझ भनेका छन् घरहरू निर्माण नगर्नु। बिऊ नरोप्नु अथवा दाख नरोप्नु। तिमीहरूले यी मध्ये कुनै एक पनि नगर्नु। केवल तम्बूहरूमा बस्नु। यदि तिमीहरूले त्यसो गर्यौ भने, जो तिमीहरू डुलुवाहरू थियौ यस देशमा धेरै कालसम्म रहने छौ।’
8
रेकाबका छोरो हाम्रा पिता-पुर्खा योनादाबले दिनुभएको प्रत्येक आज्ञा हामीले पालन गरेकाछौ। हामी कहिले मदपान गर्दैनौं। हाम्रा पत्नीहरू, छोराहरू र छोरीहरूले कहिले दाखरस पिउँदैनन्।
9
हामी बस्ने घरहरू कहिले बनाउँदैनौं। अनि हाम्रो आफनै दाखबारी र खेतहरू छैनन्। हामी कहिल्यै अन्न रोप्दैनौं।
10
हामी तम्बूहरूमा बस्छौं अनि हाम्रा पिता-पुर्खा योनादाबले आज्ञा गरेको प्रत्येक कुरा पालन गर्छौ।
11
तर जब बाबेलका राजा नबूकदनेस्सरले यहूदामाथि आक्रमण गरे, हामी यरूशलेम गयौं। हामीले एक-अर्का माझ भन्यौं, ‘हामी यरूशलेमको शहरभित्र प्रवेश गर्नै पर्छ ताकि हामी बाबेल र अरामीहरूका सेनाहरूबाट छुटकारा पाउन सक्छौं।’ यसकारण हामी यरूशलेममा बस्यौं।”
12
तब परमप्रभुको वचन यर्मियाकहाँ आयो:
13
“सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यर्मिया, जाऊ अनि यो सन्देश यहूदा र यरूशलेमका मानिसहरूलाई भन के तिमीहरूले शिक्षा नलिने अनि मेरो आदेश पालन नगर्ने?’
14
परमप्रभु भन्नुहुन्छ, ‘रेकाबको छोरो योनादाबले आफ्ना छोराहरूलाई दाखरस नखानु भनेर आदेश गरे अनि त्यो आदेश पालन गरियो। आज पर्यन्त योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गरे। तिनीहरू दाखरस पिउँदैनन्। तर मैले तिमीहरूलाई एकोहोरो भनिरहेकोछु तर तिमीहरूले मेरो आज्ञाहरू पालन गरेका छैनौ।
15
मैले मेरा दास अगमवक्ताहरू तिमीहरूकहाँ घरिघरि पठाएकोछु। अगमवक्ताहरूले तिमीहरूलाई भनेकाछन्, “तिनीहरू प्रत्येकले खराब कामबाट अलग रहनु पर्छ। तिमीहरू सबै असल हुनै पर्छ। तिमीहरूले अरू देवताहरूको अनुसरण र सेवा गर्नु हुँदैन। यदि मेरो आज्ञा पालन गरे यो देश जुन मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएकोछु यहाँ बस्नेछौ।” तर तिमीहरूले मेरो कुरा सुनेनौ।
16
योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूले दिएका आज्ञा पालन गरे तर यी मानिसहरूले मेरो आज्ञा पालन गरेका छैनन्।’
17
“यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मैले यहूदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै संकटहरू ल्याउदैछु जुन अघि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलें, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाके तर तिनीहरूले जवाफ दिएनन्।’”
18
तब यर्मियाले रेकाबी मानिसहरूलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गर्यौ। तिमीहरूले योनादाबको उपदेशहरू अनुसरण गर्यौ। उनले जो आदेश दिएका थिए त्यो तिमीहरूले पालन गर्यौ।’
19
यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘यसकारण त्यहाँ रेकाबका छोरो योनादाबका सन्तान सधैं रहनेछ जसले मेरो सेवा गर्छ।’”