म व्यकुल छु, किनकि म ग्रीष्म ऋतुको त्यो फल जस्तै जस्तै भएकोछु जो टिपिसकिएको छ। म त्यो दाख जस्तै भएको छु जो टिपिसकिएको छ। अब त्यहाँ एउटा पनि दाख रहेकोछैन। पहिले फलेको नेभारानै छैन जुन मलाई मन पर्थ्यो, त्यो एउटा पनि रहेको छैन।
2
यसको अर्थ हुन्छ; ती सबै राम्रा मानिसहरु गइसकेकाछन्, एउटै पनि धर्मी मानिसहरु यो भूमिमा रहेनन्। हरेक मानिसहरु एक- अर्कालाई मार्नको निम्ति ढुकी बस्छन्। हरेक मानिस आफ्नो भाइलाई जालमा फसाउँन षड्यन्त्र रचिबस्छन्।
3
मानिसहरुको दुवै हातहरु नराम्रो काम गर्न तयार छन्। शसकहरु काम गर्नलाई घुस माग्छन्। न्यायकर्ताले पैसा लिएर न्यायलयमा फैसला बद्लि गर्छन्। “मुख्य अगुवाहरु” साँचो र निष्पक्ष निर्णय लिंदैनन्। तिनीहरु आफुलाई जस्तो मनपर्छ, त्यस्तै काम गर्छन्।
4
तिनीहरूले असललाई पनि नोक्सान गर्ने छन्, र काँढा घारीमा फ्याँक्ने छन्। तिमीहरुका अगमवक्ताले भनेका थिए यस्तो दिन आउनेछ, तिमीहरुका प्रहरीहरुको दिन आउँदैछ। अब तिमीहरुलाई सजाय दिनेछन्। तिमी अन्योलमा पर्नेछौ।
5
तिमी आफ्नो छिमेकीमाथि भरोसा नगर। तिमी आफ्नो साथीलाई विश्वास नगर। आफ्नो पत्नीसित पनि खुलेर कुरा नगर।
6
मानिसको आफ्नै घर भित्र शत्रु हुन्छ। छोराले बाबुको आदर गर्दैनन्। छोरी आफ्नी आमाको बिरुद्धमा जानेछे। बुहारी आफ्नी सासुको बिरुद्धमा जानेछे।
7
म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु। म परमेश्वरको प्रतिक्षा गर्नेछु उहाँले मलाई बचाउँनु भएकोछ। मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ।
8
म लडेकेछु, तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ। म फेरि खडा हुनेछु। यद्यपि आज अँध्यारोमा बसेकोछु, परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ।
9
मैले परमप्रभुको विरुद्ध पाप गरेंको थिएँ। यसकारण, उहाँ मसित रिसाउँनु भएको थियो। तर न्यायलयमा उहाँले मेरो निम्ति मुद्दा लडी इन्साफ गर्नुहुनेछ। उहाँले त्यही काम गर्नुहुनेछ जुन काम मेरो निम्ति उचितछ। फेरि उहाँले मलाई बाहिर उज्यालोमा ल्याउनुहुनेछ। अनि म उहाँको उद्धार हेर्नेछु।
10
फेरि मेरो शत्रुहरुले यो देखेर लज्जित हुनेछन्। मेरो शत्रुहरुले मलाई सोधेको थियो, “तेरा परमप्रभु परमेश्वर कहाँछन्?” त्यस समय, म उसमाथि हाँस्नेछु। मानिसहरुले उसलाई हिलो मैलोले कुल्चेको जस्तै कुल्चने छन्।
11
त्यो समय आउनेछ जुन दिन तिम्रा पर्खाल फेरि निर्माण हुनेछ, त्यस समयमा तिम्रो देश विशाल हुनेछ।
12
तिम्रा मानिसहरु तिम्रो भुमिमा फर्केर आउनेछन्। तिनीहरु अश्शूर र मिश्रदेशदेखि आउनेछन्। तिम्रा मानिसहरु मिश्र र यूफ्रेटिस नदीको अर्को भूमिबाट आउनेछन्, समुद्रदेखि लिएर समुद्रसम्मका र पर्वतदेखि पर्वतसम्मका मानिसहरु आउनेछन्।
13
पृथ्वी ती मानिसहरु जो यस पृथ्वीका निवासी थिए तिनीहरुको कर्महरु जुन तिनीहरुले गर्थे ती कारणले बर्बाद भएको थियो।
14
यसकारण आफ्नो राजदण्डले तिमी शासन गर। तिमी ती वथानहरुलाई शासन गर जुन तिम्रो आफ्नो हो। मानिसको वथान कर्मेलको पहाडमा एकलै बस्थे। यो बथान बाशानमा छ अनि गिलादमा छ जसरि त्यो पहिला बसेको थियो।
15
जब मैले तिमीलाई मिश्रबाट निकालेर ल्याएको थिएँ, मैले धेरै अचम्मको कामहरु गरेको थिएँ। त्यस्तै अचम्मका कामहरु म तिमीलाई देखाउँनेछु।
16
ती अचम्मका कामहरु अन्य जातिहरुले देख्ने छन्, अनि लज्जित हुनेछन्। ती जातिहरुले देख्नेछन्, तिनीहरुको शक्ति मेरो छेउमा केहि पनि होइन। उनीहरु छक्क पर्नेछन् अनि आफ्नो मुख हातले छोप्नेछन् अनि कान बन्द गर्नेछन् र केही पनि सुन्ने छैनन्।